Friday, May 6, 2016

शान्ति-दरिद्रता (विक्रम सुब्बा)

धेरै दिनपछि चिया पसलमा
मनमिल्ने साथीहरूसँग आज भेटेँ
छुट्टिँदा उनीहरूबाट पाएको शान्ति
घरसम्म पुग्ने गाडी-भाडा तिर्दै सिद्दियो 
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

पुस्तकालयका तृपिटक पढेँ
पन्ना-पन्नामा च्यापिएर बसेको 
शान्तिलाई दिमागमा उतारेर आउँदै थिएँ
जुलुसमा लाठी चार्ज भयो गिरफ्तार भएँ
हिरासतभित्र कैद दिमागमा
शान्तिको पर्दा नै च्यातियो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

गुम्बामा पसेँ
बुद्धका सुनको तेस्रो नेत्रबाट झरेको
शान्ति-भष्महरू थापेर पाकिटमा हालेँ
बाटैमा मेरो पाकिट मारियो
गुम्बासम्म जाने-आउँने बाटो-घाटो
पाकिटमार-ईटहरूले बनेको देखेर दिक्क लाग्यो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

शहीदगेटमा एक भद्र मानिस भेटेँ
उनका राष्ट्रवादी अनुभूतिहरूले दंग परेर
मुलुकको मानचित्रमा
देशप्रेमको कुचिले शान्ति पोतिरहेको थिएँ
छिमेकीले सिमानै मिचेर घर बनाएपछि
मेरो देशप्रेमी कलेजो फलामको झिरमा उनियो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

मसानघाटमा
एक विदुशी चिन्तकलाई भेटेँ
‘लोभ-लालच नगर्नु !
यी सबै अनित्य हुन्’ भन्ने
उनको चिन्तन-प्रवचनले दिक्षित म
मेरो लिम्बुवानमा ताल्चै नलाई ओछ्यान पसेँ
विहान हेर्दा मुलुक अर्काको चार किल्लामा पसेछ
घरको धुरीहुँदै झुल्केको अशान्तिले
मेरो आँगन ढकमक्क ढाक्यो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

मरूभूमिको बालुवा पर्वतमा
दुइ-चार स्वर्ग घुमिसकेको कविलाई भेटेँ
उनका सुन्दर कविताहरू सुनेर मैले
दुनियाँलाई बगैँचा
र मानिसलाई रंगिन फूल देख्न थालेँ
तर एकदिन आफ्नै दाजु-भाइबाट
अंशबंडामा ठगिँदाको पीडाले म रन्थनिएँ
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।

चिहानघारीको पार्कमा
बरिष्ठ गायकका राष्ट्रिय गीतहरू सुनेपछि
मेरो हरेक तन्तुतिर दगुरिरहेको रगतसँगै
देशभक्तीको लय बग्न थालेजस्तो लाग्यो
तर रगत जाँचमा क्यान्सरका सेलहरू देखिएपछि
शरिरका नशाभरि मलामीहरू हिँडिरहेजस्तो लाग्यो
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।

विश्वबैंकको बैठक कक्षमा
एक प्रख्यात उद्योगपतिलाई भेटेँ
उनका औद्योगिक रणनीतिहरू सुनेर
मुलुकमा वेरोजगारी चाँडै हटला भनि ठानेँ
लगत्तै तिनले बैँकहरुलाई ठगेको प्रतिवेदन पढेँ
अर्थतन्त्रका हरिया पातजस्ता मेरा हातहरु
किरा-फटेङ्ग्राले खाएर झिक्रै पारेको देखेँ
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।

पशुपतिको प्रांगणमा
एकजना पुजारीलाई भेटेँ
उनले गाएका इश्वर-लिप्त भजनहरु सुनेँ
भगवानप्रतिको उनको आस्था देखेर
देवताका इमान्दार मुनिम भेटेजस्तो लाग्यो
तर मूर्तिचोरका नायकको योजना मुताबिक
चोर्दा-चोर्दै मुर्तिसहित पक्राउ परेर
ठिंग उभिएको काँचको पर्दामा उसलाई देखेँ
मेरो मनको पुरातत्वनै भत्कियो
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।

मन्त्रालयमै आफ्नो जरा उमारेका
एक गजलकार-नोकरशाहलाई भेटेँ
उसले शुसाशनका अंग-प्रत्यंगहरू
चिरफार गरेर रेसा-रेसा देखाइदियो
अब जनताले
सुलभ किसिमले सेवा पाउलान् भनि
ढुक्क भएर म आफ्नै सुतिखेतीमा लागेँ
तर ऊ भ्रष्ट भएको सप्रमाण रहस्य खुल्यो
शुसाशनको कुरा चोर-चंडालकै काफिया भएको देखेर
फेरि म शान्तिविहिन दरिद्र भएँ ।

हिमाल हाँसेकै छ, वतास आफ्नो यात्रामा घुमेकै छ
फुलहरू फुलेकै छन्, चराचुरुंगी र पुतली नाचेकै छन्
क्षण-क्षणमा लुटिएकोछ सिरिफ यौवन शान्तिको
जस्तो कि पार्टी कार्यालयहरूमा
दिउँसै नंग्याएर लुटिँदै छ जवानी लोकतन्त्रको 

Wednesday, May 4, 2016

पाठक (विक्रम सुब्बा)

म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आँखा
जहाँबाट हरदम वर्षने करूणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझैँ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छजसको छातीमा आमाले रोपेको
मुलुक माया गर्ने ढुकढुकीको विरुवा हुर्कन सक्दैन
शायदऊ नै दरिद्र नागरिक हो ।

मैले पढेको दोस्रो पाठ
लटरम्मै स्नेहील चुम्बन फल्ने
आमाका एक जोर ओँठहरू
जहाँ फलेका फल खाएपछि
करोड दु:खहरू त्यसै निस्तेज हुन्थे
लाग्छआमाको चुम्बन
सबैभन्दा पोषिलो आहारा हो
जसलाई अघाउँने गरी आमाले चुमेको हुन्न
शायदऊ नै सबैभन्दा कुपोषित बालक हो ।

मैले पढेको तेस्रो पाठ
दूधले भरिएका आमाका स्तनहरू
जसले मभित्र सिंचित गरे 
कञ्चन हिमाली जल र मधेसको तातो जाउलो
पहाडी जडीबुटीका सुगन्ध र कन्दमूलको स्वाद
आमाको दुधले लिखित नोटेशनबाट
झंकृत भए मेची-कर्णालीका लयदार लोरी-धूनहरू
र त मेरा हरेक अंगअंग पुलकित देखिन्छन्
लाग्छजसको नसामा आफ्नो देशको हाव-पानी दौडँदैन
शायदऊ नै सबैभन्दा रोगी मानिस हो ।

चौथो पाठमा मैले
कञ्चनजङघासगरमाथा र माछापुछ्रेझैँ फैलिएका
आमाका हातहरू छातीमै टाँसेर पढेँ
जुन हातहरूले मलाई अँगालो हाल्दा
आफुलाई सबैभन्दा सुरक्षित पाउँथेँ
जुन हातका औँलाहरू समातेर हिँड्दा
मुलुकको महान यात्रामा हिँडेजस्तो लाग्थ्यो
आमाका भरोसायुक्त हातहरू मार्फत
मभित्र प्रवेशित उर्जाकै धूप जलाएर
मैले सबैभन्दा महान पूजा गर्न सिकेँ
लाग्छसबैभन्दा ठूलो देवीका रुपमा
आफ्नो मुलुकको मानचित्रलाई
छातीभित्रको मन्दिरमा जसले सजाउँन सक्दैन
शायदऊ नै सबैभन्दा पाखण्डी सन्तान हो ।

मुटुमा छल्किँदो रक्तिम ममता
अनि स्नेहको अन्तिम थोपा पनि यहीँ छोडेर
आज चुँडियो आमाको पवित्र रेशमी स्वास
र यत्ति बेला नेपालको लाम्चे-आकृतिजस्तै
लम्पसार आमाको पार्थिव शरीरलाई
महान सूत्रझैँ पढिरहेछु

बिजुली चम्केझैँ क्षणभरमा
टुहुरा हुँदाको विरक्तिलो ज्ञान हासिल भयो
भद्र-भलाद्मी र मलामीहरू उपस्थित
यो दीक्षान्त समारोहजस्तो मातृ-मृत्यु उत्सवमा
दुनियामा बाँच्न योग्य भएको प्रमाण-पत्र
सेतो टोपीखौरेको शिरमा थापिरहेछु
लाग्छ, मानिस टुहुरो नहुञ्जेल
समाज र देशलाई माया गर्न असमर्थ हुन्छ
शायदरुँदै आमाको लासमा
दागबत्ति दिने क्षणबाट नगुज्रेको मानिस
हरफ-हरफमा आमा र मुलुक मिस्सिएको
एक महान गीत गाउँन पनि असमर्थ हुन्छ ।

प्रणयतत्व (विक्रम सुब्बा)

थाहा छ, अब छिट्टै मर्दैछु
 मरेपछि
यो ज्यानको 'पृथ्वी'[1]तत्वका परमाणुहरू
छरेर उर्वर बनाउँनुछ बगैँचा तिम्रो
र प्रणय दिवशका दिन, तिम्रै लागी
हाँगामा गुलाफी-गुलाफी मुस्कुराउनुछ

मृत्युपछि म भित्रको 'जल'[2]तत्वका वाफहरू
घोलेर रोमान्टिक छाँगा-छहरासँग नाच्दै झर्नेछु
त्रीशुली गंगाको दोभान कुइनेटोमा
रह-दहको अंगालो खोलेर स्वागत गर्नेछु, तिमी   
मेरो मायाको सङलो जलमा निथ्रुक्कै पौडिनु
तिम्रा हर अंगका घेराहरू औँलाले छोएर
सुमधुर प्रेमको जलतरंग बजाउँनुछ

मरणपछि मभित्रको 'वायु'[3]तत्वलाई
हुलेर तिम्रो सप्तरंगी आभामण्डलमा
अक्सिजनका मलिक्युलहरू मिसाउँनुछ
र चुपचाप पलपल स्वासप्रस्वास हस्ते, तिम्रा 
हरेक लम्बाई-चौडाईमा प्राण भएर सल्बलाउँनुछ 

नश्वर ज्यान त्यागेपछि मेरो 'अग्नी'[4]तत्वलाई
मिसाएर सूर्य-तेज किरणमा झुल्किनुछ, र
हरेक जिउँदो रक्तकणको गोठालो भएर, तिम्रा
तन्तुहरूमा नित्य न्यानो-मायाको दीयो बाल्नुछ

यो जुनी छोडेपछि मेरो 'आकाश'[5]तत्वलाई
तिम्रै शयन कक्षको अन्तरिक्षमा टाँग्नुछ
जसको आयतनभरि हर रात
प्रणय-प्रेमको धून बनेर आकाशवाणी गरिरहनुछ
जसको लय र सुर-तालमा समर्पित भएर, हाम्रा
ढुकढुकीले खुशीको सरगम हर साँझ गाउँनुछ

जुनी फेरेपनि मेरा सबै अनमोल तत्वहरू
तिम्रै अमनचयन खातिर खर्च-खपत गर्न सकुँ
जति पटक मरेपनि पुन: तरो-ताजा जुनी लिन
तिम्रो हृदयमा जरा हालेर खुरुखुरु सर्न सकुँ
                                                                




[1] मानव शरिरमा निहित 'पृथ्वीतत्व': शिरको केश, जीउका भुत्ला, नङहरू, दाँत, छाला, मांसपेशी, स्नायु, हड्डी, शरिरका अंगहरू, आन्द्रामा रहेका बस्तु, आदि पृथ्वी तत्व हुन् । मानिसको मृत्युपछि यी सबै फेरि (जलाए) खरानीका रुपमा वा (चिहानमा गाडे) कुहिएर पृथ्वीमा मिस्सिन   पुग्छन् ।
[2] मानव शरिरमा निहित 'जलतत्व': पित्त, कफ, खकार, थुक, पीप, रगत, बोसो, आँशु, पसिना, सिँगान, पिशाव, आदि जलतत्व हुन् । यी सबै तत्वहरू मानिसको मृत्युपछि (जलाए वा गाडे पनि) वाफ भएर फेरि पानीमा परिणत भएर जलमै मिस्सिन जान्छन् ।  
[3] मानव शरिरमा निहित 'वायुतत्व': स्वास-प्रस्वास, आन्द्राको वायु, डकार, आदि वायतत्व हुन् ।. यी सबै तत्वहरू मानिसको मृत्युपछि फेरि वातावरणमा नै मिस्सिन पुग्छन् । 
[4] मानव शरिरमा निहित 'अग्नीतत्व': शरिरको न्यानो र तातोपन, पचाउँने शक्ती, शारिरिक विकास र बृद्ध हुने प्रकृय, आदि अग्नीतत्व हुन् । मानव शरिरका अग्नीतत्वहरू पनि मृत्यु हुनासाथ वातावरणको तापक्रममै गएर मिस्सिन्छन् ।
[5] मानव शरिरमा निहित 'आकाशतत्व': कानको प्वालको खुला भाग, नाकको प्वालको खुला भाग, मुखको खुला भाग, गुदद्वार खुल्दाको खुला भाग, आदि आकाशतत्व हुन् । शरिरका आकाश तत्वहरू पनि मानिसको मृत्यु हुनासाथ खुला आयतनमै गएर मिस्सिन्छन् । 

गृहवुद्ध (विक्रम सुब्बा)

गृहवुद्ध - १
सम्झना-मन्दिरमा आमाको दर्शन पाउँछु जसै 
मुटुको चुम्बकले छातीमा टाँसेर मेरो गालामा
स्नेहको ओँठले छोएको न्यानो-न्यानो सम्झन्छु
धर्तीसमान विछ्याएको काखमा मलाई खेलाउँदा
मुमा-मुहारमा मुसुमुसु मुस्कानको ताराबाजी सम्झन्छु
कोमल कलेजीको कसौँडीबाट कंचन ममतामेरो
तकदीरको थालीमा थपक्क थापेको सम्झन्छु
पर्देशलाग्दा बाटो-खर्च हालिदिने अञ्जुली सम्झन्छु
चिताएको पुगोस् भन्ने आमालु-मंगल-धुन सम्झन्छु
थकित पाइलामा फर्कँदा साँझमेरो सहस्रारचक्र[1]लाई
ब्रह्माण्ड-उर्जासित जोडिदिने कुशल हात सम्झन्छु
सम्झनामा मिस्सिएका आमाका अक्सिजन-सम्झनाहरू
घरकै निक्खुर पानी-माटोमा शान्ति-जमरा उमारिरहेछन्  
आमाका औँलाबाट आज्ञाचक्र[2]मा अर्पित आशिष-अक्षताहरू
शान्ति-शेना भएर गौँडागौँडामा तैनाथ छन्म चाहान्छु कि -
ममताको यही गृहवुद्धका वातीले तरवार-दीयो बालिरहोस् ।


गृहवुद्ध - २
पत्नी-प्रणयको पटकथा मगज-पर्दामा जसै उत्रन्छ 
जवानी रोमान्समा खेलेको भूमिका सम्झन्छु
प्रतिक्षाका मोडमा सुनिईने सुकोमल-गीत सम्झन्छु
पिरती नाचेर नथाक्ने मारुनी-मनहरू सम्झन्छु
मुटु-कलेजोनै बाटिने बाहु-बन्धन सम्झन्छु 
रैथाने-शास्त्रको ध्वनी गुन्जित मण्डपमातिमी  
देवी प्रकट हुँदा चढाएको सिन्दुर-सुहाग सम्झन्छु
पुलिङ्गी-पाखुराका पोते-लच्छीहरूमा तिमीलाई 
नारीमा पदोन्नति गरिदिने मंगलसुत्र सम्झन्छु
मधुमासका मदहोस करोड चुम्बनका अग्नी-तापले
स्वाधिष्ठानचक्र[3]मा प्रेम-रस छल्काउँदै-उमाल्दै खाएको
जनम-जनम साथै जिउँने-मर्ने कसम-कबोल सम्झन्छु
ऋणको उजाड जमीनमा जोस-भरोसाको पर्खाल हालेर
गृहस्थी जीवन-शिलान्यास गरेको सम्झन्छु
नयाँघर-दैलोले उघारेको चोखो साईत टेकेर
खुशी-खुशी नारिँदै जोरजोर-पाउ-प्रवेश सम्झन्छु
स-साना-सुन्दरकौशी-गमलामा भएपनिहामीले
आफ्नै मन-मायाहरू रंगिविरंगी फुलाएको सम्झन्छु
सम्झँदासम्झँदै तन्तुतन्तुका तानपुरामायो हृदय  
राग-मधुवन्ती[4]को आरोह-अवरोहमा झुमिरहेछ   
अनाहतचक्र[5]को कुण्डमा पिरतीका चरू जलिरहेछन्    
पवित्र-प्रेम-छन्दका मन्त्रले रक्षा गरिरहेछन्,
र म चाहान्छु कि -
दाम्पत्य-जीवनमा ढलोट अटल-प्रेमको घरेलु गृहवुद्धले
अमन-चैनको शान्ती-संग्रामी घण्ट-बिगुल बोजाईरहोस् !!
-----------------------------------------
[1] सहस्रारचक्र: शिरको टुप्पीमा अवस्थित बह्माण्डसँगजोडिएको (सातौँ) चक्र वा महान तन्तु जसको रंग सेतो वा गहुँ गोरो(Crystal) हुन्छ । यसै चक्रकोसहायताले हरेक मानिस ब्रह्माण्ड उर्जा (Cosmos energy) सँग जोडिएको हुन्छ ।
[2] आज्ञाचक्र: दुइ आँखाहरूको विच निँधारमा अवस्थित  ज्ञानको (छैठौँ) चक्र जुन बैजेनी रंगको हुन्छ र जसलाई ज्ञानको केन्द्रविन्दु मानिन्छ ।
[3] स्वाधिष्ठानचक्र: नाइटोको ठिक मुन्तिर अवस्थित यौन तथा संतान उत्पादन शक्तीको (दोस्रो) चक्र वा केन्द्र जसको रंग सुन्तले हुन्छ ।
[4] मधुवन्ती राग: प्रणय र प्रितका मायालु रोमान्चक गायनको राग

[5] अनाहत चक्र: निसर्त प्रेमको (चौथो) चक्र वा केन्द्रविन्दुजसको रंग हरियो हुन्छ